Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एमेच्योर राहुल सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल, प्रो जयराम १४ स्ट्रोकले पराजित


ग्लोबल पाना
शुक्रबार, पुस १८ २०८२
  • 343
    SHARES

  • images
    एमेच्योर राहुल सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल, प्रो जयराम १४ स्ट्रोकले पराजित

    काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले जितेका छन् । उनी प्रो र एमेच्योर दुवै तर्फको उपाधि जित्न सफल भए । यो उनको करियरको तेस्रो उपाधि हो । प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि रक्षा गर्न सफल भएका हुन् ।

    images
    images
    images

    प्रतियोगिताको अन्तिम दिन आज ४-अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४-अन्डर २ सय ७४ सहित उपाधि जितेका हुन् । जयराम श्रेष्ठले आज खराब प्रदर्शन गर्दै ५-ओभर ७७ स्कोर गर्दा समग्रमा इभन-पार २ सय ८८ सहित दोस्रो स्थान प्राप्त गरे। प्रोतर्फ पहिलो भएका जयरामले १ लाख ७० हजार पुरस्कार प्राप्त गरे ।

    समग्रमा २-ओभर २ सय ९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे। तोरणले इभन-पार ७२ र भुवनले ४-अन्डर ६८ मा चौथो दिनको खेल सकाए । उनीहरूले १ लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे । नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा ३-ओभर २ सय ९१ को स्कोरमा पाँचौं स्थान हात पारे। उनले आज ३-अन्डर ६९ मा खेल सकाए। उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।

    समग्रमा ४-ओभर २ सय ९२ को स्कोरमा भुवन कुमार रोक्का, शुक्र बहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्तरुपमा छैटौं भए । भुवनले ४-ओभर ७६ खेल्दा शुक्र र दिनेशले २-ओभर ७४ मा खेल पुरा गरे । उनीहरूले ६४ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गरे । एमेच्योर रूबेनले २-अन्डर ७० स्कोर गरे । रुबेन एमेच्योरतर्फ दोस्रो भए। अर्का एमेच्योर साम डोबलार्ड दशौं भए । उनले आज १-ओभर ७३ को स्कोर सहित समग्रमा ८-ओभर २ सय ९६ स्कोर गरे ।

    अन्तिम १८ होलको सुरूवात गर्दा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्ट नाइन ३-अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो । राहुलले दोस्रो, तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । पाँचौ होलमा एक सट खेर फाले। यसपछि १७ औं होलको बोगीका विरूद्ध १२औं र १५औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए। जयरामले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा पहिलो र दोस्रो होलमा लगातार दुई बर्डी प्रहार गरे ।

    तर तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले । यसपछि उनले ब्याक नाइन बिर्सनलायक खेले। १०औं र १२औं तथा १४ देखि १६ सम्म लगातार तीन गरी कुल ५ बोगी प्रहार गरे । यो खराब प्रदर्शनमा ब्याक नाइन ५-ओभर ४१ मा सकाए । तोरणले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३६ मा सकाए । फ्रन्ट नाइनमा उनले सबै होलमा पार बचाए । ब्याक नाइनमा १०औं, १२औं र १४औं होलमा बर्डी प्रहार गरे । तर ५-पारको १५औं होलमा डबल बोगीको समान गर्दा १८औं होलमा बोगी प्रहार गरे ।

    भुवनले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा सकाए। उनले पहिलो, तेस्रो, चौथो तथा १६ देखि १८ होलमा लगातार तीन गरी कुल ६ बर्डी प्रहार गरे । आठौं र चौधौं होलमा एक-एक सट खेर फाले । ७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता रहेको थियो । जहाँ कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे ।

    सिजनको पहिलो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो। प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ