Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एन्फा नेतृत्वमाथि असन्तुष्टि उत्कर्षमा, वरिष्ठ उपाध्यक्ष खड्काले मागे अध्यक्ष र महासचिवको राजीनामा


ग्लोबल पाना
सोमबार, असोज २७ २०८२
  • 372
    SHARES

  • images
    एन्फा नेतृत्वमाथि असन्तुष्टि उत्कर्षमा, वरिष्ठ उपाध्यक्ष खड्काले मागे अध्यक्ष र महासचिवको राजीनामा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमाथि असन्तुष्टि चरम उत्कर्षमा पुगेको छ। संस्थाका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष र महासचिवलाई मार्ग प्रशस्त गरिदिन माग गरेका छन् ।

    images
    images
    images

    वर्तमान नेतृत्वले देखाएको कार्यशैली, निर्णय प्रक्रिया र पारदर्शिताको अभावले संस्था गम्भीर संकटमा फँसेको भन्दै उनले तत्काल सुधारको माग गरेका हुन्। खड्काले एन्फाको हालको अवस्थाले नेपाली फुटबलको विकासमा बाधा पुर्‍याएको भन्दै विगत लामो समयदेखि राखिँदै आएका गुनासोहरू बेवास्ता भएपछि असन्तुष्टि सार्वजनिक गर्न बाध्य भएको बताएका छन् । पत्रकार सम्मेलनमा उपाध्यक्ष विराटजंग शाही, सदस्य रविनचन्द ठकुरी र रुपेश अधिकारी समेत उपस्थित थिए । उनले मकवानपुरस्थित एन्फा एकेडेमीमा खेलाडीको निधनजस्तो संवेदनशील घटनामा नेतृत्वले अपेक्षित जिम्मेवारी नदेखाएको आरोप लगाए। घटना छानबिनका लागि प्रभावकारी समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न नसक्नु नेतृत्वको संवेदनशीलताको कमी भएको उनले उल्लेख गरे ।

    त्यसैगरी, क्लब, खेलाडी, प्रशिक्षक, रेफ्री र समर्थकजस्ता सरोकारवालाको सुझावलाई बेवास्ता गर्दै एकलौटी निर्णय गर्नेसंस्कार मौलाएको आरोपसमेत उनले लगाए । नेतृत्वले बहुमतको आडमा सल्लाह र सहकार्यभन्दा पनि व्यक्तिगत निर्णयलाई प्राथमिकता दिँदा फुटबल परिवारमा निराशा बढेको उनको भनाइ थियो। एन्फाको जिम्मेवारीअन्तर्गत पर्ने विभिन्न लिगहरूको नियमित सञ्चालनमा देखिएको कमजोरीप्रति पनि खड्का समूहले कडा आपत्ति जनाएको छ । ए, बी, सी डिभिजन, राष्ट्रिय, जिल्ला, महिला र स्कुल लिग लामो समयदेखि नियमितरूपमा सञ्चालन नहुँदा खेलाडीहरू खेलजीवनबाट पलायन हुन वा विदेश जान बाध्य भएको उल्लेख गर्दै यसले नेपाली फुटबलको आधारभूत संरचनालाई कमजोर बनाएको उनीहरूले बताएका छन् ।

    त्यस्तै, अन्तर्राष्ट्रिय खेल आयोजना गर्न आवश्यक पूर्वाधार सुधारमा नेतृत्व असफल भएको आरोपसमेत लगाइएको छ। दशरथ रंगशालालाई आवश्यक मापदण्डअनुसार योग्य बनाउन पहल नगरेको र पोखरा रंगशालालाई प्रयोगमा नल्याएको कारण अन्तर्राष्ट्रिय खेलका अवसर गुमेको समूहको आरोप छ । आर्थिक कारोबारमा पारदर्शिता नहुँदा संस्थाको विश्वसनीयतामाथि प्रश्न उठेको खड्काको भनाइ थियो। विश्वकप टिकट वितरण, खेलकुद पोशाक खरिद, होटल व्यवस्थापन र रंगशालाको टिकट बिक्रीमा पारदर्शिता नदेखिएकाले नेतृत्वको जवाफदेहितामा शंका उत्पन्न भएको उनले बताए ।

    खेलाडीलाई समयमै पुरस्कार तथा प्रोत्साहन नदिइनु पनि असन्तुष्टि व्यक्त गरिएका प्रमुख विषयमध्ये एक हो । कार्यसमिति बैठकले एक वर्षअघि नै खेलाडीलाई कार, मोटरसाइकल र नगद पुरस्कार दिने निर्णय गरे पनि हालसम्म कार्यान्वयन नभएको उनले स्मरण गराए। साधारण सभाबाट तय गरिएका विभिन्न कार्यक्रम समयमा सम्पन्न नहुँदा सरोकारवालाहरूको असन्तुष्टि झन् तीव्र बनेको छ ।

    यसले संस्थाप्रतिको भरोसा कमजोर भएको र फुटबल क्षेत्रमै नकारात्मक सन्देश पुगेको खड्का समूहको धारणा छ। खड्काले एन्फा नेतृत्वले तत्काल सुधारका कदम नचाले आगामी दिनमा थप आन्दोलनात्मक कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ