काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियार र जनवादी गणतन्त्र चीनका नेपालस्थित राजदूत महामहिम चेन सङबीच आज मन्त्रालयमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक सौहार्दपूर्ण, समस्या–रहित र अत्यन्तै सकारात्मक वातावरणमा सम्पन्न भएको दुवै पक्षले बताएका छन् । बैठकका क्रममा मन्त्री डा. परियारले नेपाल–चीनबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई कृषि तथा पशुपन्छी विकासका माध्यमबाट अझ सुदृढ बनाउने नेपाल सरकारको प्रतिबद्धता व्यक्त गरे ।
आधुनिक, दिगो र जलवायु–मैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार विस्तारमा चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहयोग नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको उनले उल्लेख गरे । उनका अनुसार कृषि सहकार्य प्रभावकारीरूपमा अघि बढेमा नेपालका कृषक, ग्रामीण अर्थतन्त्र तथा समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पुग्ने विश्वास नेपाल सरकारले लिएको छ ।
त्यसैगरी राजदूत चेन सङले नेपाल–चीन द्विपक्षीय कृषि सहकार्य अत्यन्तै परिणाममुखी बन्न सक्ने विश्वास व्यक्त गर्दै आगामी प्राथमिकताहरू प्रस्तुत गरे । उनले कृषि पार्क स्थापना, हाइब्रिड धान बीउ उत्पादन, आलु तथा मकैका उन्नत जातहरूको प्रवर्द्धन, र खाद्य प्रशोधन उद्योग विकासलाई प्रमुख सहकार्य क्षेत्रका रूपमा पहिचान गरे ।
बैठकमा क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासु निर्यात सम्भावना, र कृषि प्रदर्शन पार्क स्थापना जस्ता विषयहरूमा दुई देशबीच सहकार्यको दिगो ढाँचा विकास गर्न विस्तृत छलफल गरिएको थियो । दुवै पक्षले प्राविधिक सहयोग, लगानी र ज्ञान आदान–प्रदानको आवश्यकता औंल्याउँदै नेपाल–चीन कृषि साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । बैठकले आगामी दिनमा द्विपक्षीय कृषि तथा पशुपन्छी विकास क्षेत्रमा ठोस प्रगतिका लागि मार्गनिर्देशन गर्ने अपेक्षा व्यक्त गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


