Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण


ग्लोबल पाना
शुक्रबार, कात्तिक १४ २०८२
  • 494
    SHARES

  • images
    महानगरले सुरु गर्‍यो सामुदायिक कुकुरको बन्ध्याकरण

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ। छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट मिति २०८२ असोज २२ गते आवेदन आह्वान गरेको थियो।

    images
    images
    images

    सोही अनुसार सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये पाँचवटा छनोट भई बन्ध्याकरण कार्य सुरु भएको हो । विशेष गरी कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले बन्ध्याकरण कार्य व्यवसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिनुभयो।

    “कुकुर लगेर रिकभरी नभएसम्म नछोड्नुहोस्, कठिनाइ आएमा हामी फेरि छलफल गर्नेछौं,” उहाँको भनाइ थियो। न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ। आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा थप ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको छ।

    कृषि तथा पशुपंक्षी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, बन्ध्याकरणका लागि KAT CENTER ले वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० मा, KAT CLINIC ले वडा नम्बर ११, २१, २२, २४, २८ र ३० मा, Mandala Veterinary Hospital ले वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ मा, Sneha’s Care संस्थाले वडा नम्बर २, ८, १२, १३, १४ र २९ मा तथा SPCA Nepal ले वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ मा कुकुरको बन्ध्याकरण कार्य गर्नेछन्।

    सम्झौता अनुसार, संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य सञ्चालन गर्नुपर्नेछ। बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्ने छ। आवश्यक औषधि, सर्जिकल सामग्री तथा रेबिज खोप संघसंस्थाले आफैं खरिद गर्नुपर्नेछ। कार्य सम्पन्न प्रमाणित भएपछि प्रति एकाइ दरका आधारमा ८० प्रतिशत रकम भुक्तानी गरिने र बाँकी २० प्रतिशत अन्तिम चौमासिक प्रतिवेदनपछि भुक्तानी दिइने व्यवस्था गरिएको छ।

    बन्ध्याकरणपश्चात Ear Notch लगाउने र भ्याक्सिनेसनपश्चात शरीरको देखिने भागमा हरियो रङ लगाएर पहिचान गर्ने व्यवस्था पनि गरिएको छ। बन्ध्याकरण गरिएका जनावरमा स्वास्थ्य समस्या देखिए वा नदेखिएको बारे तीन महिनासम्म निगरानी राख्ने जिम्मेवारी संघसंस्थाकै हुनेछ। यदि बन्ध्याकरण वा भ्याक्सिनेसन नगरी गरिएको दावी प्रमाणित भएमा सो संघसंस्थालाई प्रति जनावर एक लाख रुपैयाँ जरिवाना तथा सम्झौता रद्द गरी संस्था दर्ता खारेजीका लागि पत्राचार गर्ने सम्मको शर्तको व्यवस्था गरिएको छ।

    सम्झौता २०८३ सालको असार २० सम्म कायम रहनेछ। महानगरले बन्ध्याकरण तथा खोपको दर प्रति जनावर २ हजार ५ सय रुपैयाँ तोकेको छ। यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण तथा १६ हजार जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो। त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ६ सय ७० वटा बन्ध्याकरण र १६ हजार ५ सय ६९ जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो।

    महानगरले वर्षेनी सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य तथा नियन्त्रणका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य काठमाडौँलाई स्वस्थ, स्वच्छ र पशुप्रेमी सहरका रूपमा विकास गर्नु हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ